एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि नयाँ युद्धको योजना बनाएको आरोप लगाएका छन् ।
उनले अमेरिकाले क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थितिलाई तीव्र रूपमा विस्तार गर्दै विश्वको सबैभन्दा ठूलो युद्धपोत पठाएको उल्लेख गर्दै 'यो शान्तिको होइन, युद्धको तयारी हो' भन्ने दाबी गरेका छन् ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले शुक्रबार यूएसएस गेराल्ड आर फोर्ड नामक विमानवाहक युद्धपोतलाई भूमध्यसागरबाट क्यारिबियनतर्फ पठाउने आदेश दिएका थिए । यो पोतले ९० वटासम्म युद्ध विमान बोक्न सक्ने क्षमतायुक्त विश्वको सबैभन्दा ठूलो पोत मानिन्छ।
मादुरोले भने, 'उनीहरू नयाँ अनन्त युद्धको रचना गर्दैछन्। अमेरिकाले कहिल्यै फेरि युद्धमा नफस्ने वाचा गरेको थियो, तर अहिले फेरि त्यही बाटोमा हिँडिरहेको छ।'
अमेरिकाले हाल क्यारिबियन क्षेत्रमा युद्धपोतहरू, एक आणविक पनडुब्बी र एफ–३५ युद्ध विमानहरू तैनाथ गरेको छ।
वाशिङ्टनले यो अभियानलाई ‘लागूपदार्थ तस्करीविरुद्धको कारबाही’को रूपमा चित्रित गर्दै आएको छ। तर पछिल्ला हवाई आक्रमणहरू र सैन्य कारबाहीले यस क्षेत्रका मुलुकहरूमा निन्दा र चिन्ता दुवै उत्पन्न गरेको छ।