काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ग्रिनल्यान्डतर्फ आँखा लगाएका छन् ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई ‘पुनः प्राप्त’ गर्न सैन्य बल प्रयोगसहितका विभिन्न विकल्पमाथि छलफल गरिरहेका छन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ग्रिनल्यान्डलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि प्राथमिकता का रूपमा उल्लेख गरिएको छ।
बीबीसीका अनुसार ट्रम्पले तीन दिनअघि नै अमेरिकाको सुरक्षाका लागि ग्रिनल्यान्ड आवश्यक रहेको दाबी गरेका थिए। त्यसको केही दिनमै ह्वाइट हाउसबाट सैन्य विकल्पसमेत खुला राखिएको कडा वक्तव्य आएको हो।
यसप्रति कडा प्रतिक्रिया जनाउँदै डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले यदि अमेरिकाले ग्रिनल्यान्डमाथि आक्रमण गरे नेटो गठबन्धन नै अन्त्य हुन सक्ने चेतावनी दिएकी छन् ।
ह्वाइट हाउसले मंगलबार जारी गरेको अर्को विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति र उनको टोलीले यो महत्वपूर्ण विदेश नीति लक्ष्य हासिल गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छन्, र अमेरिकी सैन्य बल प्रयोग गर्नु कमाण्डर-इन-चिफका लागि सधैं एउटा विकल्प रहन्छ।'
यसैबीच बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड र स्पेनसहित ६ युरोपेली देशहरूले डेनमार्कको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ग्रिनल्यान्ड त्यहाँका जनताको हो, र डेनमार्कले आफ्ना पारस्परिक सम्बन्धबारे निर्णय गर्न स्वतन्त्र छ।'