काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन्।
उनले आज सामाजिक सञ्जालमार्फत् पार्टीले शनिबार गरेको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै एक महिनाअघि नै पार्टीमा दर्ता गरेको पत्र सार्वजनिक गरेकी हुन्।
उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गरेकी छन्।
पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको उनको गुनासो छ।
उनले लेखेकी छन्- 'महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।'
पार्टीको कार्यशैली सच्याएर थप लोकतान्त्रिक हुन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीका गतिविधिहरूमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्नेमा जोड दिइन्।
उनले विस्तारित बैठकमा पार्टी संगठनको वृहत् सहभागिता र भोटिङ राइट्स सुनिश्चित गरिनुपर्ने बताइन्। भोटिङ राइट्स नदिने भए देशभरिबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको औचित्य नभएको उनको भनाइ छ।