काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबारमा बोलाएर देशको ताजा राजनीतिक अवस्था, आगामी निर्वाचन र सरकारका प्राथमिकताबारे विस्तृत जानकारी गराउने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले दिउँसो साढे २ बजे सिंहदरबारमा २६ देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता गर्दै देशको समसामयिक राजनीतिक परिदृश्यबारे ‘ब्रिफिङ’ गर्ने कार्यक्रम तय भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीले बैठकमा आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन, सरकारको सुधारात्मक एजेन्डा, लगानी वातावरण, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नेछिन्।
प्रधानमन्त्री कार्कीको यो भेटलाई कूटनीतिक वृत्तले सरकारको पारदर्शी नीति र अन्तर्राष्ट्रिय समुदायसँगको समन्वय सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।