काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेतामाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
बिहीबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई मागपत्र बुझाएको हो ।
मागपत्रमा जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध चलाएको आन्दोलनमा शहादत प्राप्त विद्यार्थीप्रति उच्च सम्मान प्रकट गर्दै आन्दोलनको भावना र उद्देश्यको संरक्षण गर्न राज्यको जिम्मेवारी रहेको उल्लेख गरिएको छ ।
नेविसंघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल अनुसन्धान गरी कानुनी कारबाही गर्न पनि माग गरेको छ ।
त्यसका साथै जेन–जी आन्दोलनका क्रममा भएका अमानवीय घटना, सार्वजनिक सम्पत्तिमा क्षति, आगजनी र तोडफोडजस्ता घटनाहरूको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।
मागपत्रमा काठमाडौं महानगर प्रमुख बालेन साह र रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूको नाम स्पष्ट रूपमा उल्लेख गर्दै उनीहरूमाथि प्रत्यक्ष संलग्नताको आरोप लगाइएको छ ।
‘जेन–जी आन्दोलनको आवरणमा देशका विभिन्न जेल, कारागार र बन्दीगृहमा आगजनी गर्ने, कैदी–बन्दी भगाउने, सरकारी कागजात नष्ट गर्ने जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू उपर तत्काल अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने’ मागपत्रमा उल्लेख छ ।
त्यस्तै, भदौ २४ गतेका हिंसात्मक घटनाहरूलाई भड्काउने गरी टिप्पणी गर्ने र भिडलाई उत्तेजित बनाउने भूमिका खेलेको आरोप बालेनमाथि लगाउँदै नेविसंघले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना र अफवाह फैलाउनेहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।