काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ ।
उजुरीमा सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा जेनजी आन्दोलनअघि दुई दिन पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ ओसारिएको अभिव्यक्ति दिएको विषय उठाइएको छ ।
माओवादी केन्द्रले बिहीबार सो अभिव्यक्तिको खण्डन गर्दै सामाजिक सञ्जालमा फैलाइएको सामग्री झुठो र भ्रम सिर्जक भएको दाबी गरेको छ ।
प्रचण्डको सचिवालयले भनेको छ, 'झुठ्ठा सामग्री प्रवाह गरी पार्टी नेतृत्वको चरित्रहत्या गरिनु गम्भीर साइबर अपराध हो। यसकारण, देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ।'
प्रचण्डको सचिवालयका तर्फबाट दर्ता गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका गलत प्रचार–प्रसारको आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
सरकार र गृह प्रशासनले आवश्यक कदम नचाले संघर्षका लागि सडकमा आउन बाध्य हुने वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले चेतावनी दिएका छन् ।