काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन सबै राजनीतिक दलहरूको सहभागिताबिनाको सम्भव नहुने बताएकी छिन् ।
शुक्रवार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
निर्वाचन सबै राजनीतिक दलहरूको सहभागिताबिनाको सम्भव नहुने बताउँदै उनले सरकार त्यसबारे पूर्णरूपमा सचेत र जिम्मेवार रहेको स्पष्ट पारिन् । आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।
उनका अनुसार सरकार निर्वाचनको विश्वसनीयता र जनविश्वास कायम गर्नका लागि आवश्यक शान्ति, सुरक्षा र व्यवस्थागत तयारीमा जुटिरहेको छ।
'जेन–जीहरू हाम्रै छोराछोरी र नातिनातिनी हुन्। उनीहरूले किन असन्तुष्टि व्यक्त गरे भन्ने गहिरो रूपमा बुझेर त्यसलाई परिवर्तनको अवसरका रूपमा लिनु जरुरी छ। देशलाई समावेशी र संवेदनशील राजनीतिक संस्कृतितर्फ लैजाने बेला आएको छ,' उनले भनिन् ।
बैठकमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको दोहोर्याउँदै, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरे।