काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुदन गुरुङविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दिएको उजुरी प्रहरीले दर्ता गरेको छैन ।
अनेरास्ववियुको टोलीले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा शाह र गुरुङलाई भदौ २४ गतेको आगजनी प्रकरणमा संलग्न रहेको आरोपसहित पक्राउको माग गर्दै जाहेरी बुझाएको थियो। तर, प्रहरीले सो जाहेरी प्राविधिक त्रुटि (केरमेट) का कारण दर्ता नगरेको जनाएको छ।
अनेरास्ववियुको टोलीको नेतृत्व महासचिव दीपक धामीले गरेका थिए। विद्यार्थी संगठनले बालेन र सुधनको नाम भदौ २४ को काठमाडौं आगजनी घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गर्दै उनीहरूलाई तत्काल पक्राउ गर्न माग गरेको हो।
सोही दिन सुदन गुरुङ समूहले भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी दिएको थियो। प्रहरीले उक्त जाहेरी छानबिन आयोगमा पठाइएको जनाएको छ।