काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टी छाडेका नेताहरूलाई आफ्नो ऊर्जा रास्वपाको आलोचना होइन, कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्न आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो ऊर्जालाई कुशासन र भ्रष्टाचारविरूद्ध खर्च गर्न अनुरोध गर्दै रास्वपाको आलोचना नगरिदिन आग्रह गरेका हुन्।
उनले लेखेका छन्- 'कुनै कारणवश पार्टी छाडेका साथीहरूलाई अनुरोध छ- कृपया आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरूद्ध खर्च गर्नुहोस्, रास्वपाको आलोचनामा मात्र होइन। नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो भयो भन्ने लागेर अझ नयाँ बन्न खोज्नेहरूको नोकझोक पुरानालाई मात्र फाइदा पुर्याउने हो भन्ने हेक्का राखिदिनुहोस्।'
आचार्यले पार्टीमै रहँदा प्रशंसा गर्ने र छाडेपछि बदनाम गर्ने प्रवृत्तिलाई नेपाली राजनीतिज्ञहरूको पुरानो चरित्रको संज्ञा दिएका छन्।
हालै सुमना श्रेष्ठले रास्वपा छाड्दै पार्टी नेतृत्वको आलोचना गरेकी थिइन्। त्यस प्रसंगलाई लक्षित गर्दै आचार्यले नयाँ बन्ने नाममा पुरानालाई फाइदा हुने गतिविधिबाट टाढा रहन आग्रह गरे।
उनले लेखेका छन्- 'हुनत, आफू रहँदा प्रशंसा र छोडेर जाँदा सम्भव भएसम्म बदनाम गर्ने प्रवृत्ति नेपाली राजनीतिज्ञहरूको पुरानो चरित्र हो। राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर जाने विद्वान साथीहरूको अन्तर्वार्ता हेर्ने हो वा स्टाटसहरू पढ्ने हो भने त्यो रोग हामीमा पनि अझै रहेछ भन्न अप्ठ्यारो मान्नु पर्दैन। यस्तो लाग्छ, यो देशमा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा खराब पार्टी अर्को कुनै छैन र यो देशका सबै खराब नेताहरू यही पार्टीभित्रै छन्।'
उनले पार्टीलाई तुच्छ बनाएर नयाँ पुस्ताको राजनीतिलाई हानि हुने प्रश्न उठाए।
साथै, अहिलेको अन्तरिम सरकारले आपराधिक मनोवृत्तिका तत्वलाई समयमा कारबाही गर्नुपर्ने धारणा राख्दै सरकारको गलत कदमले पुराना दल र आन्दोलनकारी दुबैको कोपभाजनमा पर्ने चेतावनी दिए।