काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार दिउँसो २ बजेदेखि निरन्तर चलिरहेको छ । विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्न बसेको बैठक साँझ सात बजेसम्म पनि सकिएको छैन ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपश्चात् फेरिएको राजनीतिक कोर्सबारे छलफल गर्न बसेको बैठक, सोही घटनासम्बन्धी जाँचबुझ आयोगको ताजा सिफारिसपछि अझै पेचिलो बनेको हो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच उच्च पदस्थ व्यक्तिहरूको पासपोर्ट रोक्का गर्न र उपत्यका बाहिर जान नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
उनीहरूमा तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन् ।