Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • बागमती प्रदेशका नाकाबाट व्यापक तस्करी, डीआईजी शर्मामाथि हेडक्वार्टरको गोप्य निगरानी !

    बागमती प्रदेशका नाकाबाट व्यापक तस्करी, डीआईजी शर्मामाथि हेडक्वार्टरको गोप्य निगरानी !

    अनलाइन नेपाल
  • बिहिबार, १० माघ २०८१
  • 3.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका हरेक कार्यालयमा नारा लेखिएको छ– ‘सत्य, सेवा सुरक्षणम् ।’ तर, यो नाराबिपरीत केही उच्चपदस्थ प्रहरी अधिकृत नै जसरी हुन्छ अर्थ संकलनमा केन्द्रित हुने गरेका छन् ।

    यस्तै नेपाल प्रहरीका उच्च अधिकृत हुन्–बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी कृष्णहरि शर्मा । डीआईजी बिष्णुकुमार केसीले अवकाश पाएपछि कोही पनि डीआईजी नभएकाले छवि राम्रो नभए पनि आईजीपी बसन्तबहादुर कुँवरले बाध्य भएर उनलाई बागमती प्रदेशमा सरुवा गरेका थिए ।



    बागमती प्रदेशमा सरुवा भएदेखि नै डीआईजी शर्माले मातहतका थानाचौकीमा एकपछि अर्का विवादित र बदनाम जुनियर अधिकृतलाई इन्चार्जका रुपमा खटाएका छन् । विशेषगरी चितवन र मकवानपुरका नाका नाकामा उनले अन्यत्रै दरबन्दी भएका र विवादितलाई काजमा ल्याउँदै चौकीको इन्चार्जको जिम्मा दिएका छन् ।

    डीआईजीले लोथर र रातमाटे चेकपोष्टमा पठाएका इन्चार्जले गर्दा भन्सारछलीका सामानदेखि गाँजा तस्करी बढेको छ । ती दुवै नाकामा खटाइएका इन्चार्ज यसअघि पटक पटक घुसकाण्डमा निलम्बनमा परेका जुनियर अधिकृत हुन् ।

    लोथर र रातमाटेका इन्चार्जलाई डीआईजी शर्माले जे जसरी हुन्छ मासिक तोकेरै थैली बुझाउनुपर्ने गरी खटाएपछि गाँजा तस्करी ह्वात्तै बढेको छ । विगत एक महिनामा लोथर र रातमाटे चेकपोष्टबाट क्वीन्टलका क्वीन्टल गाँजा तस्करी हुँदैआएको छ ।

    चितवनको नारायणगढबाट गएको जे एच ओ २ यु ७०६० नम्बरको भारतीय गाडी गैंडाकोटमा चेकजाँच गर्दा २५६ किलो गाँजा बरामद भएको थियो । तस्करीको गाँजासहित भारतीय नागरिक पुस्कल यादव पक्राउ परेका थिए । माघ ६ गते बीरगंज महानगरबाट भारततर्फ लान लागेको १९५ किलो गाँजा बरामद भएको थियो ।

    १२ दिनअघि २९ पुस, २०८१ मा चितवन र मकवानपुरबाट तस्करी भएको ५ क्वीन्टल गाँजा बारासँग जोडिएको भारतको पूर्वी चम्पारणमा बरामद भएको थियो ।

    यी केही प्रतिनिधि उदाहरण हुन्, डीआईजी शर्माले मकवानपुर र चितवनका नाका नाकामा टेण्डर कबोल गरी सरुवा गरेका चौकी इन्चार्जहरुको सेटिङमा करोडौंको गाँजा नेपाल हुँदै भारत तस्करी हुने गरेको छ ।

    डीआईजी शर्माले रातमाटे चेकपोष्टको इन्चार्जमा ललितपुर दरबन्दी भएका सई बृजकुमार चौधरीलाई खटाएर त्यो नाकाबाट तस्करीको लाइन चलाउने गरेका छन् ।

    जागिर अवधि साढे ३ महिनामात्र रहेका सई चौधरीलाई डीआईजी शर्माले नै रातमाटे चेकपोष्टको इन्चार्जमा पठाएपछि उनले एसपीलाई होइन, सबै कुराको ब्रिफिङ डीआईजीलाई गर्ने गरेका छन् ।

    रातमाटेमा गाँजा बोकेको गाडी जाने बेलामा सेटिङमा चेकिङ नै नराखी पार गराउने गरिएको स्रोतको दाबी छ । डीआईजी शर्माले लोथर चौकीमा बरिष्ठ सई राजेश यादवलाई काजमा ल्याएर इन्चार्ज राखेका छन् ।

    उनको दरबन्दी महोत्तरी हो । काजवालाहरुकै मकवानपुर र चितवनमा राज चल्दा मासिक करोडौंका सामान बरामद हुने गरेको रातमाटेमा अहिले भटाभट लागूऔषध गाँजादेखि सुनचाँदीसमेत पास हुँदैआएको छ ।

    रातमाटे चेकपोष्टका सई बृजेश चौधरीका एक आफन्त नै गाँजाको तस्करी गर्दागर्दै पक्राउ परी बीरगंज कारागारमा छन् । लोथर र रातमाटेमा यस्ता विवादित र विगतमा अनेक काण्डमा पटक पटक निलम्बनमा परेकालाई काजमा ल्याएर इन्चार्ज बनाएपछि मकवानपुर र चितवनका एसपी नै अप्ठेरोमा परेका छन् ।

    डीआईजीको यस्तो हर्कतको चेन अफ कमाण्डमा बस्नुपर्ने एसपीहरुले बिरोध गर्न सकेका छैनन् । डीआईजी शर्मा अच्यूतकृष्ण खरेल आईजीपी हुँदा प्रहरी निरीक्षक थिए । त्यतिबेला उनी डेक्समा खटिदा लगाएको ड्यूटी अनुसार काम नगर्ने अधिकृतका रुपमा चिनिन्थे । त्यसपछि पनि उनी विवादमुक्त हुनसकेका थिएनन् ।

    दाङको एसपी हुँदा निवासमै उनले देखाएका हर्कतले प्रहरीकै शिर निहुर्याउने काम गरेको थियो । एयरपोर्टमा एसएसपी हुँदा पनि डीआईजी शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा पैसा उठाउन असई विनयकुमार सिंहलाई घुमुवा राखेका थिए ।

    त्रिभुवन बिमानस्थलबाट खाडी मुलुकमा व्यापक सूर्ती र गुट्खा अवैध रुपमा लाने गिरोहबाट ती घुमुवाले डीआईजी शर्माकै संरक्षणमा रकम असुली गर्ने गरेका थिए ।

    सूर्ती, गुट्खा तस्करी गराउने कार्यमा एयरपोर्ट नजिकका होटेल ब्यवसायी, कार्गो , कुरियर र ट्याक्सीवालाहरुलाई असई सिंहले पैसा–रक्सी मागेको व्यापक जनगुनासोपछि उपत्यका प्रहरी कार्यालयले ललितपुर परिसर काज सरुवा गरेको थियो ।

    डीआईजी शर्माले एकसहायक हवल्दारलाई गढीमाई जाँदादेखि जहाँ पनि सँगै लाने गरेको बिषयमा पनि प्रहरीभित्रै निकै चर्चाको बिषय हुँदै आएको छ । डीआईजी शर्माले अर्का विवादित असई राजेश साहलाई सुनाचरीमा वा बसपार्कमा खटाउन मकवानपुरका एसपी विश्वराज खड्कालाई दवाव दिएको स्रोत बताउँछ ।

    प्रहरी स्रोतका अनुसार डीआईजी शर्माका असुली धन्दाका बारेमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसम्म गुनासो पुगेपछि उनीमाथि प्रधान कार्यालयले निगरानी बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार