काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने धम्की, गालीगलौज तथा चरित्रहत्या भएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।
ओलीले पछिल्ला केही सातादेखि संसदमा उठाएका विषयहरूको प्रतिक्रियास्वरूप आफू लक्षित संगठित साइबर आक्रमण भइरहेको बताउँदै नेपाल प्रहरी साइबर ब्यूरो मा उजुरी दर्ता गराएकी हुन् ।
उनका अनुसार फेसबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा सयौँबाट सुरु भएको दुर्व्यवहार अहिले हजारौँ प्रयोगकर्तासम्म फैलिएको छ ।
उनले व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमार्फत समेत बलात्कारको धम्की, ज्यान मार्ने चेतावनी तथा भौतिक आक्रमणका संकेतसहितका आपत्तिजनक सन्देशहरू प्राप्त भएको उल्लेख गरेकी छन्। यसै आधारमा केही पहिचान भएका व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन उजुरी दिइएको हो ।
साइबर ब्यूरोका अनुसार उजुरीपछि प्रारम्भिक अनुसन्धानका क्रममा एक जना व्यक्तिलाई पक्राउ गरिएको छ र उनीमाथि थप अनुसन्धान भइरहेको छ।
ओलीले लोकतान्त्रिक व्यवस्थामा आलोचना स्वीकार्य भए पनि धम्की, घृणायुक्त अभिव्यक्ति, चरित्रहत्या र हिंसात्मक उक्साहट कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेकी छन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो बारेमा फैलाइएका आपत्तिजनक सामग्री हटाउन सम्बन्धित प्रयोगकर्तालाई चेतावनी दिँदै अन्यथा कानुनी कारबाही भोग्नुपर्ने बताएकी छन् ।