Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बालेनले चुनाव अघि नै भनेका थिए–काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्नु, अहिले लम्सालले भने–खुट्टा भाँचिदिनु

बालेनले चुनाव अघि नै भनेका थिए–काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्नु, अहिले लम्सालले भने–खुट्टा भाँचिदिनु

सोमवार , आषाढ १, २०८३

काठमाडौं । २०८२ फागुन ६ गते बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं हालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले निर्माण व्यवसायी लक्षित कडा अभिव्यक्ति दिएका थिए । 

धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले २ वर्षमा बन्ने बाटो बन्न २० वर्ष लागेको भन्दै अब ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ’ बाटो बन्नुपर्‍यो भन्ने अभिव्यक्ति दिएका थिए ।

बालेनले त्यतिबेला भनेका थिए–‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो ।’ 

balen.jpg
धनगढीको सभालाई सम्बोधन गर्दै बालेन ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा सम्पन्न गराएको चुनावमा रास्वपा पहिलो पार्टी बन्दै बालेन प्रधानमन्त्री बने । उनै बालेन नेतृत्वको सरकारमा अहिले पूर्वाधार विकासमन्त्री छन्, सुनिल लम्साल । 

लम्सालले पनि चुनावअघि बालेनले भनेझै समयमै काम नगर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम गराउन’ निर्देशन दिएका छन् ।

निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले हिजो (आइतबार) काममा ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र ‘खुट्टा भाँचेर भए पनि’ काम गराउन निर्देशन दिएका हुन् ।

सडक विस्तारमा अवरोध बनेका विद्युत् पोल हटाउने कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका मन्त्री लम्सालले अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा आयोजना प्रमुखसहितका सरोकारवाला अधिकारीहरू छलफल गरेका थिए । 

सोही क्रममा मन्त्री लम्सालले विद्युत् पोल स्थानान्तरणको जिम्मा लिएको निर्माण व्यवसायीलाई लक्षित गर्दै भने–‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर ल्याएर यहीँ राख्नुस् । काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

मन्त्री लम्सालले आवश्यक सहजीकरणका लागि के–कस्ता विषयमा पहल गर्नुपर्ने हो, त्यसको यकिन गरेर निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।

यद्यपि, निर्माण कार्यमा ढिलाइप्रति आक्रोश व्यक्त गर्ने क्रममा बालेनले चार महिनाअघि ‘रुखमा बाँधेर हुन्छ कि’ ‘खोरमा जाकेर हुन्छ’ काम गराउनुपर्छ भनेर दिएको अभिव्यक्ति र अहिले मन्त्रीले प्रयोग गरेको ‘खुट्टा भाँच्दिनू’ भन्ने अभिव्यक्तिलाई लिएर चौतफई आलोचना सुरु भएको छ ।

सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु उपयुक्त नभएको भन्दै सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया आएका छन् ।

प्रधानमन्त्री बालेनले चुनावअघि र पूर्वाधारमन्त्री लम्सालले अहिले निर्माण व्यवसायीलाई लक्षित गरि दिएको अभिव्यक्ति विवादमा परेको हो ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077