काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन् ।
सोमबार दिउँसो निर्माणको अन्तिम चरणमा रहेको हलको निरीक्षण गर्न संसद् सचिवालयका कर्मचारीहरूसहित सभामुख अर्याल त्यहाँ पुगेका हुन्।
त्यसक्रममा सभामुख अर्यालले नयाँ सदन भवनको काम सम्पन्न नभएकोमा आक्रोश व्यक्त गरेका छन्।
गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन ।
त्यसक्रममा उनले हल तयार गर्ने मिति सार्दै लगेको तर काम नगरेकोमा आक्रोशित हुँदै अब तोकिएको मितिमा नबने हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी पनि दिए ।
'एउटा एउटा बहाना बनाइराख्नु भएको छ । तपाईंहरूले कहिले हस्तान्तरण गर्ने टुङ्गो गरौँ। नभए प्रतिदिन एक करोड जरिवाना तिर्ने भनेर निर्णय गरौँ, यस्तो पनि हुन्छ। यो त राष्ट्रकै अपमान भयो।' अर्यालले भने।
साथै सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न उनले निर्देशन दिए ।
संसद भवनका रूपमा प्रयोग भइरहेको नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनमा आगजनी भएपछि प्रतिनिधि सभा र राष्ट्रियसभाका दुवै बैठक अस्थायी हलमा सञ्चालन हुँदै आएका छन्।