काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकहरुलाई छलफलका लागि बोलाएका हुन् ।
बैठक सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्नेछ ।
जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबीच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको थियो ।
नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।
अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ बाट चलिरहेको थियो ।