काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा उनले केवल दुई मतको झिनो अन्तरले विजय हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. अछुतम लामिछाने ले ४१४ मत पाए। दुई मतको अन्तरले मात्रै नेतृत्वको टुंगो लागेपछि अधिवेशनको निर्वाचन निकै रोमाञ्चक बनेको थियो।
अधिवेशनमा सहभागी रास्वपाका केन्द्रीय सदस्य मधुसुधन ढकाल का अनुसार अन्तिम मतगणनापछि अर्याल विजयी घोषित भएका हुन् ।
सुरुदेखि नै अर्याल र लामिछानेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो, जुन मतपरिणामले पनि पुष्टि गरेको छ।
सभापति पदका लागि प्रारम्भिक रूपमा चार जनाले उम्मेदवारी दिएका थिए। तर मतदानअघि दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर अर्याललाई समर्थन गरेपछि प्रतिस्पर्धा दुई उम्मेदवारमा सीमित भएको थियो।
मकवानपुर का अर्याल यसअघि रास्वपा बागमती प्रदेश कमिटीको प्रवक्ताको जिम्मेवारीमा थिए। संगठनभित्र सक्रिय र युवा नेतृत्वका रूपमा परिचित उनले अब प्रदेश संगठनको नेतृत्व सम्हाल्नेछन्।
यता, पराजित भएका लामिछाने नुवाकोट–२ बाट निर्वाचित सांसद हुन्। उनी यसअघि रास्वपा बागमती प्रदेश सभापतिको जिम्मेवारीमा समेत रहेका थिए।