काठमाडौं । विगत तीन महिनादेखि प्रत्यक्ष सैन्य द्वन्द्वमा रहेका संयुक्त राज्य अमेरिका र इरान युद्ध अन्त्य गर्ने ऐतिहासिक सम्झौताका लागि अन्तिम चरणको वार्तामा पुगेका छन् ।
दुवै देशबीच युद्धविरामलाई स्थायी बनाउने, रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मोज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वार्ता अन्तिम चरणमा पुगेको बताउँदै केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। उनले अधिकांश विवादित विषयमा समझदारी बनिसकेको र अब आन्तरिक परामर्शको अन्तिम चरण चलिरहेको बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सहमति “धेरै हदसम्म टुंगिसकेको” दाबी गर्दै प्रस्तावित आक्रमणहरू रोकिएको बताएका थिए ।
अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षले प्रारम्भिक सम्झौताको मस्यौदामा सहमति जनाइसकेका छन् र छिट्टै हस्ताक्षर हुन सक्ने अपेक्षा गरिएको छ।
प्रस्तावित समझदारीअनुसार इरानले विश्व ऊर्जा आपूर्तिको मुख्य नाकाका रूपमा रहेको हर्मोज जलमार्ग पूर्ण रूपमा खुला गर्नेछ । त्यसको बदलामा अमेरिकाले इरानी जहाज तथा बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने र चरणबद्ध रूपमा आर्थिक प्रतिबन्ध खुकुलो बनाउनेछ।
सम्झौतामा हस्ताक्षर भएलगत्तै ६० दिनको प्राविधिक तथा आणविक वार्ताको चरण सुरु हुनेछ। यस अवधिमा इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने तथा संवर्धित युरेनियम भण्डारण व्यवस्थापनबारे थप सहमति खोजिनेछ।
त्यस्तै, इरानले क्षेत्रीय सहयोगी तथा प्रोक्सी समूहहरूलाई दिँदै आएको आर्थिक सहयोग सीमित गर्नुपर्ने सर्त पनि प्रस्तावित दस्तावेजमा समावेश भएको बताइएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजराइलले इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि हवाई आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।
त्यसको प्रतिक्रियास्वरूप इरानले हर्मोज जलमार्गमा अवरोध सिर्जना गर्दै क्षेत्रीय तनाव चर्काएको थियो। यसबीच अप्रिलमा युद्धविरामको प्रारम्भिक सहमति भए पनि छिटपुट आक्रमणहरू जारी रहँदै आएका थिए।
यद्यपि कूटनीतिक प्रगति भइरहेका बेला पनि तनाव पूर्ण रूपमा समाप्त भइसकेको छैन। शुक्रबार मात्रै अमेरिकी सेनाले हर्मोज क्षेत्रतर्फ गइरहेका केही इरानी ड्रोन खसालेको जानकारी सार्वजनिक भएको छ।