काठमाडौं । फिफा विश्वकप २०२६ का सह–आयोजकमध्ये एक क्यानडाले विश्वकप अभियानको पहिलो खेलमा बोस्निया एन्ड हर्जोगोभिनासँग १–१ को रोमाञ्चक बराबरी खेलेको छ ।
शुक्रबार राति टोरन्टोस्थित रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता बोस्नियाले लिए पनि दोस्रो हाफमा वैकल्पिक खेलाडी साइले लारिन नायक बनेपछि क्यानडा हारबाट जोगिएको हो।
खेलको २१औँ मिनेटमा बोस्नियाले पहिलो गोल गर्दै घरेलु टोलीलाई दबाबमा पारेको थियो। बासिचको कर्नरबाट सिर्जित अवसरमा सिद कोलासिनाचले दिएको पासलाई लोभो लुकिचले उत्कृष्ट हेडमार्फत जाली चुमाउँदै बोस्नियालाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार आक्रमण बुने पनि गोलको खडेरी तोड्न संघर्ष गर्नुपरेको थियो। त्यसपछि प्रशिक्षकको रणनीतिक परिवर्तन प्रभावकारी सावित भयो।
मैदानमा प्रवेश गरेको तीन मिनेटमै साइले लारिनले खेलको रंग बदले। ७८औँ मिनेटमा उनले बोस्नियाका तारिक मुहारेमोभिचलाई छक्याउँदै गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएपछि क्यानडाले महत्वपूर्ण बराबरी गोल फर्कायो।
त्यसपछि दुवै टोलीले विजयी गोलका लागि आक्रामक प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल १–१ को बराबरीमा टुंगियो र दुवै टोलीले एक–एक अंक बाँडे।