Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

विश्वकप २०२६ : उद्घाटन खेलमै गोल भन्दा धेरै रातो कार्ड, मेक्सिको र दक्षिण कोरियाको विजयी शुरुवात

विश्वकप २०२६ : उद्घाटन खेलमै गोल भन्दा धेरै रातो कार्ड, मेक्सिको र दक्षिण कोरियाको विजयी शुरुवात

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ आजरातीबाट शुरु भएको छ । आज राती १२ः४५ बजे भएको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ ।

मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन  खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो ।

तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । 

खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । 

६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाएका थिए । 

उद्घाटन खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए । विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । 

त्यसपछि १० खेलाडीमा सिमित रहेको दक्षिण अफ्रिकामाथि मेक्सिकोको दबाब बढेको थियो । फलस्वरुप मेक्सिको ६७औं मिनेटमा अर्को गोल गर्न सफल भयो । 

खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वाने पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाए । 

२ गोल भएको उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाकै कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । समूह ‘ए’ कै दोस्रो खेलमा भने दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ । 

दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को जित निकालेको हो । 

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग पराजित हुन पुग्यो ।

दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो ।

५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेन । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो । ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।

खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएका थिए । तर, अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन ।

८०औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र दक्षिण कोरिया विजयी भयो ।

समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकतालिकाको पुछारमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077