काठमाडौं । गत वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद गर्दा ठूलो अनियमितता भएको भेटिएपछि ठेकेदारमात्र नभई धेरै प्रहरी अधिकारीहरु पनि छानविनमा तानिएका छन् ।
निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा करोडौं भ्रष्टाचार भएको ब्यहोरासहितको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारहरुसहित केही उच्च प्रहरी अधिकारीहरुका श्रीमतीको बैंक खाताको विवरण समेत छानविन गरिरहेको छ ।
स्रोतका अनुसार ठेकेदार ज्ञानेन्द्र बस्नेतको एभरेष्ट सिलाइ उद्योग, एभरेष्ट फुटवेयरमा कमिसनको रकम जम्मा गराई ५÷६ वटा कम्पनीहरुमा रकम ट्रान्सफर गरिएको खुलेपछि अख्तियारले उच्च प्रहरी अधिकारीहरु र उनीहरुका श्रीमतीको बैंक खाताको विवरणसमेत मगाएर अनुसन्धान गरिरहेको छ ।
‘निर्वाचनको एक महिनाको अवधिमा बस्नेत र उनी निकट कम्पनीहरुको खातामा मात्र झण्डै १५ करोड रकमको शंकास्पद कारोबार भएको देखिन्छ । यसमा निर्वाचनन प्रहरीको सामान खरिदको कमिसन मात्र नभई अन्य घुसको रकम समेत डिपोजिट गरिएको हो कि भन्नेतर्फ पनि अनुसन्धानको सुई अगाडि बढेको छ । काम नै नगरेका केही कम्पनीका बैंक खातामा कसरी रकम जम्मा भयो ? भन्ने बारेमा पनि गम्भिर ढंगले अनुसन्धान भइरहेको छ ।’–अख्तियार स्रोतले अनलाइन नेपालसँग भन्यो ।
केही समय भित्र अनुसन्धान सकेर मुद्दा लैजाने विषयमा समेत अख्तियारमा छलफल भइसकेको स्रोत बताउँछ ।
निर्वाचन प्रहरीको सामान खरिद प्रकरणमा प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी विश्व अधिकारीदेखि तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल हुँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसम्म अनुसन्धानको दायरामा तानिएको अख्तियार स्रोतले जनाएको छ ।
निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान (लौरो, सिठ्ठी, पोशाक, जुत्ता, मोजा, बेल्ट, स्वेटर)को बजार मूल्यभन्दा दोब्बर बढी मूल्यमा खरिद गरी घोटाला भएको अख्तियारमा उजुरी परेको थियो ।
३ हजार ५ सय रुपैयाँ पर्ने बन्दोबस्तीका सामान सामान प्रतिव्यक्ति ६ हजार भन्दा बढीमा खरिद गरी अनियमितता भएको उल्लेख छ ।
कतिसम्म सेटिङ गरिएको छ भने निर्वाचन प्रहरीका लागि कम्पनी नै तोकेर सामान खरिद गरिएको थियो ।
निर्वाचन प्रहरीका लागि १ लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिद गर्दा सिधैं कम्पनी नै तोकेर खरिद गर्नुले पनि भ्रष्टाचार भएको कुरालाई पुष्टि गर्ने आधार मिलेको छ । कम्पनी नै तोकेर गोल्डस्टार जुत्ता खरिदमा मात्र १० करोड रुपैयाँ घोटाला भएको दावी गरिएको छ ।
निर्वाचन प्रहरीको खरिदमा मात्र ४० प्रतिशत कमिसनको चलखेल भएको आरोप लाग्दै आएको छ ।
बन्दोबस्तीका सामान खरिद गर्दा प्रहरी प्रधान कार्यालय, प्रदेश÷उपत्यका एआइजी तथा प्रदेश डिआइजी, जिल्ला प्रहरी प्रमुखबीच कमिसनको बाँडफाँड गरिएको खुलेपछि अख्तियारले छानविनलाई तिब्रता दिएको हो ।
यसमा प्रशासन विभागका एआइजी हिमालय श्रेष्ठ, डिआइजी विश्व अधिकारी, पूर्वडिएसपी गणेश चन्द, पूर्वप्रधानमन्त्री सुशीला कार्कीका स्वकिय सचिव आदर्श श्रेष्ठ र केही उच्च प्रहरी अधिकारीका श्रीमतीको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।
चन्दको तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसँग निकटता भएकाले उनले नै यसमा सेटिङ मिलाएका थिए।
अख्तियारले यो प्रकरणमा केही ठेकेदार, प्रबन्धदेखि जिल्ला प्रहरी कार्यालयका लेखापालहरूलाई समेत धमाधम बयान लिइरहेको छ ।
निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद गर्दा अर्थमन्त्रालयबाट बजेट ल्याउने क्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी प्रधान कार्यालयको तर्फबाट आर्थिक तथा प्रबन्ध निर्देशनालयका प्रमुख डिआईजी विश्व अधिकारीबीच सम्झौता भएपछि खरिद प्रक्रिया अगाडि बढेको थियो । यसरी सेटिङमा खरिद गराई कमिसन बुझेको भन्दै उजुरी परेपछि अर्याल पनि छानविनमा तानिएका छन् ।
बजेट निकासा गर्दा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको सम्झौता नै कानूनविपरीत रहेको खुलेको छ ।
निर्वाचन प्रहरी लागि खरिद गरिएको बन्दोबस्तीका सामानको अनियमितताको विषयमा परेको उजुरीमाथि अनुसन्धान सकिएको हो ? भन्ने अनलाइन नेपालको प्रश्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले भने अनुसन्धानको विषय गोप्य हुन्छ । अनुसन्धान अधिकृतले गोप्य रुपमा गर्ने भएकाले हामीलाई यो विषयमा जानकारी नहुने बताए ।
अख्तियारले गरेको छानविनको विषयमा प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी विश्व अधिकारीलाई सम्पर्क गर्दा उनले आफूलाई त्यस विषयमा जानकारी नभएको बताए ।
उनले भने–‘यो विषयमा मलाई केही जानकारी छैन । यो हामीलाई थाहा हुने विषय पनि भएन । यसबारे प्रवक्तासँग जानकारी लिनुहोला ।’
यस विषयमा प्रतिक्रियाका लागि अनलाइन नेपालले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग सम्पर्क गर्दा उनको फोन उठेन ।