काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुदन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले विभिन्न लगायत आरोप लागेका गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे विभिन्न प्रश्न उठेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए ।
त्यसपछि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो । उक्त समितिले गुरुङलाई निर्दोष ठहराएर सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
निर्दोष ठहरिएपछि पुन: गुरुङ गृहमन्त्री भएका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
त्यसैलाई लिएर सांसद खड्काले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप समेत लगाएका छन्।
उनले भने- 'माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। उक्त समितिले चोख्याउदै प्रतिवेदन सार्वजनिक गर्यो । र प्रतिवेदन नै सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो । सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।'
जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार आयोगले नै छानबिन गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई सरकारले कारबाही नगरी पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ थियो।