Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विपक्षी अडान कायम, संसद् अवरोध जारी रहने

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विपक्षी अडान कायम, संसद् अवरोध जारी रहने

बुधवार , जेठ २७, २०८३

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएर सार्वजनिक रूपमा माफी नमागेसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने अडान पुनः दोहोर्‍याएका छन् ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले यसअघिको निर्णयलाई निरन्तरता दिँदै संसद् अवरोध जारी राख्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा व्यक्त गरेको “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताए। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दलहरूको साझा धारणा रहेको स्पष्ट पारे।

“प्रधानमन्त्रीले माफी नमागेसम्म र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएन भने प्रतिनिधिसभा चल्न दिइने छैन,” राईले भने।

विपक्षी दलहरूले संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सरकार तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक पहल गर्नुपर्नेमा समेत जोड दिएका छन्। उनीहरूले संवादमार्फत समाधान खोज्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट दिएको उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठक पनि सोही विषयलाई लिएर प्रभावित भएको थियो।

विपक्षी दलहरूको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपनेता पदमा अर्याल, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, कांग्रेसकी प्रमुख सचेतक वासना थापा तथा सचेतक निष्कल राईलगायतका नेताहरूको सहभागिता रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077