Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री बालेन भन्छन् - बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो

प्रधानमन्त्री बालेन भन्छन् - बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो

शनिवार , जेठ २३, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई क्षेत्रीय सहकार्यको गतिशील र प्रभावकारी मञ्चका रूपमा व्याख्या गर्दै सदस्य राष्ट्रहरूबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् ।

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै यातायात, व्यापार र डिजिटल सञ्जालमार्फत क्षेत्रीय सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले सदस्य राष्ट्रहरूको आर्थिक एकीकरणलाई अझ गहिरो बनाउन भौतिक तथा डिजिटल पूर्वाधार सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्री शाहका अनुसार बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित छ र त्यसलाई थप मजबुत बनाउन पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमशीलताको विकास र जनस्तरको सम्बन्ध विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।

जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट उत्पन्न चुनौतीप्रति क्षेत्रीय प्रतिरोध क्षमता अभिवृद्धि गर्न पनि साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ। उनले अन्तरसम्बन्धित, उत्थानशील र समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे।

यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनाल ले पनि छुट्टै सन्देश जारी गर्दै सन् १९९७ मा स्थापना भएयता बिम्स्टेकले क्षेत्रीय सहकार्यका क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गरेका छन्।

उनले बिम्स्टेक चार्टरले सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अब हासिल उपलब्धिलाई थप सुदृढ बनाउँदै कार्यान्वयनको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए।

परराष्ट्रमन्त्री खनालले बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय जनसम्बन्ध विस्तारमा सक्रिय भूमिका खेल्न तयार रहेको बताए।

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रका सरकार तथा नागरिकहरूलाई शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077