Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोपेली संघको उच्चस्तरीय कूटनीतिक टोली नेपाल भ्रमणमा, प्रधानमन्त्री बालेनसँग भेट गर्दै

युरोपेली संघको उच्चस्तरीय कूटनीतिक टोली नेपाल भ्रमणमा, प्रधानमन्त्री बालेनसँग भेट गर्दै

सोमवार , जेठ ११, २०८३

काठमाडौं । युरोपेली संघ (ईयू)को उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेट गर्ने भएको छ।

औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको उक्त टोलीले भ्रमण कार्यक्रमअन्तर्गत मंगलबार प्रधानमन्त्री शाहसँग सामूहिक भेट गर्न लागेको हो।

नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलमा युरोपका सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप-मिसन प्रमुखहरू सहभागी छन्। ईयू पक्षले यो भ्रमणलाई नेपाल(ईयू सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।

प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका कूटनीतिक प्रतिनिधिहरू सहभागी छन्।

भ्रमण कार्यक्रमअनुसार टोलीले परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसँग छलफल गर्नेछ। 

त्यसैगरी निजी क्षेत्र, नागरिक समाजका अगुवा तथा युवा नेतृत्वसँग पनि छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

ईयू प्रतिनिधिमण्डलकी प्रमुख लोरेन्जोका अनुसार यो भ्रमणको उद्देश्य  नयाँ सरकारलाई बधाई दिनुका साथै विकास प्राथमिकतामा सहकार्य विस्तार गर्नु रहेको छ ।

व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै नेपालसँग मिलेर दिगो, समावेशी र समृद्ध भविष्य निर्माणमा अघि बढ्ने ईयूको तयारी छ।

सामूहिक भेटका अवसरमा सोहि विषयहरुलाई समेटेर नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। 

यसअघि पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग यस्तै प्रकारको सामूहिक छलफल गरिसकेका थिए ।

ईयू प्रतिनिधिमण्डलसँगको यो सामूहिक भेटलाई विशेष कूटनीतिक महत्त्वको रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077