काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोसी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी गरेका छन् ।
उनले नेकपा एमाले सँगको सहमतिमै सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट संकेत दिएका हुन् ।
शुक्रबार सुनसरीको लौकहीमा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कोसी प्रदेशमा सत्ता समीकरण परिवर्तनको तयारी अघि बढिरहेको बताए ।
उपसभापति शर्माका अनुसार हाल कांग्रेससँग कोसी प्रदेश सरकारमा चार मन्त्रालय रहेका छन् भने मुख्यमन्त्री एमालेका हिक्मत कार्की छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली सँगको छलफलपछि सातै प्रदेशमा सत्ता सहकार्यबारे समझदारी बनेको समेत बताएका छन् ।
उनले भने, 'यस विषयमा धेरै बोल्न चाहन्नँ तर यति चाहिँ स्पष्ट भन्न सक्छु– अब कोसी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ।'