दमौली । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब विकास निर्माणका काम राति पनि गर्ने बताएका छन् ।
दमौलीमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले आगामी १०–१५ वर्षभित्र मुलुकलाई समुन्नत बनाउन २४ घण्टा काम गर्ने संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गरेका हुन् ।
उनले विगतमा भएका कमजोरीका लागि अरूलाई दोष थोपरेर उम्किन कांग्रेस तयार नभएको स्पष्ट पार्दै देशमा भएका राम्रा कामको श्रेयमा पनि कांग्रेसले दाबी गर्ने बताए।
उनले भने, ‘धनी देश बेलायतले राति पनि पुल र बाटो बनाउने काम गर्छ, गरिब देश नेपाल सूर्य अस्त, नेपाल मस्त किन ? २४ घण्टामा ३ वटा ८ घण्टा हुन्छन्, अब हामीले भौतिक पूर्वाधार निर्माणको काम तीनओटै ८ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्छ।’
शर्माले भने, ‘विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ। जे जति राम्रा काम भए त्यसको श्रेयको ठूलो भाग दाबी पनि हामी नै गर्छौं। अनि अब ‘राति पनि काम गर्नेछ नेपाल’ को उद्घोष हामी नै गर्छौं ।’