काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन् ।
खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिकाका वडा सचिव कमल भण्डारीलाई ‘प्रकाश खड्का’ नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै धम्क्याउने, भय तथा त्रास सिर्जना गर्ने र अमर्यादित भाषामा धम्की दिएका थिए ।
यस घटनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । सार्वजनिक अडियोमा खड्काले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको सुनिएको थियो ।
खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले खड्कालाई पक्राउ गरेको हो ।