काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का दीर्घकालीन खानेपानी योजनाहरू समावेश गर्न सरकारसँग माग गरेका छन्।
खानेपानी मन्त्रालयलाई पत्र लेख्दै उनले नागरिकले भोगिरहेका खानेपानी समस्या समाधानका लागि आधारभूत तथा दीर्घकालीन योजनाहरू तत्काल अघि बढाउनुपर्ने उल्लेख गरेका छन्।
उनले विशेषगरी ‘सप्तकोशी धरान खानेपानी आयोजना’लाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन्।
उक्त आयोजना कार्यान्वयन भए धरानका विभिन्न वडा तथा समतल आवासीय र बजार क्षेत्रलाई कम्तीमा ३० वर्षसम्म पर्याप्त हुनेगरी दीर्घकालीन खानेपानी आपूर्ति गर्न सकिने उनको दाबी छ।
यसैगरी, धरान–२०मा स्रोत व्यवस्थापनमार्फत् खानेपानी उपलब्ध गराउने, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा खानेपानी स्तरोन्नति गर्ने योजनाहरू पनि बजेटमा समेट्नुपर्ने माग गरिएको छ।
ती क्षेत्रमा भूमिगत पानी निकालेर ‘ओभरहेड ट्यांकी’ निर्माण गर्दै व्यवस्थित वितरण प्रणाली विकास गर्न आवश्यक रहेको उनले औंल्याएका छन्।