काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसदले खगेन्द्र सुनारले प्रहरी–प्रशासनलाई नै धम्क्याएका छन् । प्रहरी हिरासतभित्र दलित युवकको मृत्यू भएको विषयलाई लिएर बाँकेबाट निर्वाचित सांसद सुनारले एसपीलाई घिसारेर लैजाने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् ।
इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा रहेका युवक श्रीकृष्ण बिक गत वैशाख ७ गते मृत भेटिएका थिए । उनले हिरासतभित्रै झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाइ छ ।
यद्यपी उक्त घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले कार्यदल गठन गरिसकेको छ । प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी पत्रअनुसार घटनाको तथ्यगत र वस्तुनिष्ठ अनुसन्धानका लागि समिति गठन गरिएको हो।
सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय विकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो।
बिक वैशाख ७ गते बिहान हिरासत कक्षको शौचालयमा आफ्नै कालो रंगको सटको पासो घाँटीमा लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीले तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल हुँदै सिन्धुली अस्पताल लग्यो । तर डाक्टरले मृत घोषणा गरे ।
विकको मृत्युपछि घटनाको तथ्यगत तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा नेपाल प्रहरीको मानव स्रोत तथा प्रशासन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रेम रेग्मी र सोही कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र सापकोटा सदस्य रहेका छन्।
विकको मृत्युपछि हिजोदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६ जना सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्नामा बसेका थिए।
प्रहरी हिरासतमै विकको मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका थिए ।
सांसद सुनारले प्रहरीले श्रीकृष्णको हत्या गरेको आरोप लगाउँदै आएका छन् । अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमै लेखेका थिए ।
सांसद सुनारले प्रहरीले हिरासभित्र बिकको हत्या गरेको ठोकुवा गर्दै सीडीओ र प्रहरी प्रमुखलाई कारवाही हुनुपर्ने बताउँदै आएका छन् । उनले एसपीलाई कारबाही नभए आफूले नै घिसारेर लैजाने धम्की पत्रकारहरुकै बीचमा दिएका हुन् ।
विकमाथि बालविवाह र नाबालिक बलात्कारको आरोप थियो । मृतक बिकका परिवारका अनुसार उनले खोटाङ घर भएकी मगर थरकी एक किशोरीसँग भागीविहे गरी काठमाडौंमा बस्दै आएका थिए ।
तर, किशोरीका परिवारले नाबालिग बलात्कारको आरोप लगाएर प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिए । सोही उजुरीका आधारमा प्रहरीले बिकलाई वैशाख ३ गते सातदोबाटोबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय खुर्कोटको जिम्मा लगाएको थियो ।
अन्तरजातीय प्रेम विवाह सम्बन्धी घटनामा बलात्कारको झुटो आरोप लगाएर पक्राउ गरिएको परिवारको दाबी छ । वैशाख ३ गते उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेका थिए । उनीमाथि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको थियो । तर, ७ गते दिउसो ४ बजे उनी झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
प्रहरीले कुटपिट र यातना दिएर हत्या गरेको आरोप परिवारले लगाएको छ । उनीहरुले शव बुझ्न अस्वीकार गर्दै निष्पक्ष छानबिन माग गरेका छन् । प्रहरीले भने बिकले आत्महत्या गरेको बताएको छ । राष्ट्रिय दलित आयोगले प्रहरी प्रमुखलाई भेटेर गहिरो छानबिन गर्न ध्यानाकर्षण गरेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन ।
रास्वपा सांसद खगेन्द्र सुनार र रिमा विश्वकर्मालगायत हिजो सिन्धुली प्रहरी कार्यालय पुगेका थिए । त्यहीँ सुनारले पत्रकारहरुमाझ उत्तेजक अभिव्यक्ति दिएका हुन् । उनले अपुष्ट आरोप लगाउँदै चर्को स्वरमा प्रहरी–प्रशासनलाई धम्क्याए ।
उनले भनेका थिए–‘प्रहरीले एउटा दलितलाई अन्तरजातीय विवाह गरेको निहुमा पक्राउ गरेर हत्या गरेको छ । हामीले घटनाको कारण सोध्दा उहाँहरुले स्पष्ट बताउन सक्नुभएन । एसपीको जिभ्रो काँपेको छ । हात काँपेको छ । जिल्ला प्रशासनको गेटमा गेटमा उभिएर भनेको छु कानूनले काम गरेर भने यो एसपीलाई यहाँबाट घिसारेर लैजान्छु ।’
‘यहाँबाट भएन भने मैले भन्देको छु, खुल्ला पत्रकार सम्मेलन गरेर भनेको छु, सामान्य जंगलमा घाँस काट्ने मान्छेलाई कारवाही हुन्छ भने कस्टडीभित्र मान्छे काट्ने पुलिसलाई कारवाही हुनु पर्छ कि पर्दैन ? एउटा दलितलाई अन्तरजातीय विहे गरेको निहुँमा पक्राउ गरेर, कस्टडीभित्र लगेर, कुटेर–पिटेर, मारेर, ल्याएर, दम्पच गराएर हामी सांसदहरु पुग्दै गर्दा अघिसम्म भिडिओ देखाउँछु भन्ने, अहिले मिल्दैन भन्ने ।’ उनले थप भनेका थिए ।
सत्तारुढ दलकै सांसदले प्रहरी प्रशासनमाथि धम्की दिएको भन्दै चौतर्फी रुपमा सुनारकै आलोचना भइरहेको छ । पटक–पटक विवादमा पर्दै आएका सुनार यो प्रकरणमा पनि विवादमा तानिने संकेत देखिएको छ । कहिले गाई काटेर खान पाउनुपर्ने त कहिले संसद बैठकमै झुट बोलेको भन्दै उनी विवादमा परेका थिए ।