Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हिरासतमा दलित युवाको मृत्यु : रास्वपाका सांसदहरु नै धर्नामा

प्रहरी हिरासतमा दलित युवाको मृत्यु : रास्वपाका सांसदहरु नै धर्नामा

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सत्तारुढ दल रास्वपाका ६ जना सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा १४ घन्टादेखि धर्नामा बसेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्।

सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका छन् । 

सांसद सुनारले प्रहरीले श्रीकृष्णको हत्या गरेको आरोप लगाएका छन् । अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमा लेखेका छन् ।

‘१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं’ खगेन्द्र सुनारले आफ्नो फेसबुकमा लेखेका छन्। 

सीडीओ, एसपी र खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने, संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

आज बिहान १० बजे सबैजना प्रशासन आउन पनि उनले सामाजिक सञ्जालबाट अपिल गरेका थिए । 

श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए।

ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए। ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए।

त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो।

ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो।

श्रीकृष्ण वैशाख ७ गते हिरासतमा मृत फेला परेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077