काठमाडौं। नेकपा एमालेका नेता एवम पूर्वमन्त्री गोकुल बास्कोटाले रास्वपा भित्रको पछिल्लो आन्तरिक कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले रास्वपा अब ‘फाईनल हाज्याक’ हुने दिशामा अघि बढेको दाबी गरेका हुन् ।
गृहमन्त्री सुधन गुरुङलाई गम्भीर आरोप लागिरहेका बेला र प्रधानमन्त्री बालेन्द्र शाहनिकट भूपदेव शाहलाई रास्वपाको महामन्त्री बनाइएपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपाविरुद्ध टिप्पणी गर्दै लेखेका छन्- 'रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकीजस्तो देखियो। यद्दपि त्यो उनीहरूको मामिला हो।'
उनले आफ्नो टिप्पणीको अन्त्यमा 'यो उनीहरूको मामिला हो' भन्दै रास्वपाभित्रको पछिल्लो घटनाक्रम र नेतृत्वमाथि चुलिँदै गएको अविश्वासप्रति व्यङ्ग्य गरेका छन् ।
तर उनले कुन कुरालाई लक्ष्य गरेका हुन् भन्ने कुनै स्पष्ट संकेत दिएका छैनन्।
यद्यपी बास्कोटाको यो टिप्पणीलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।