काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको अडान सही रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले भारतले विगतकै धारणा दोहोर्याएको र चीनले यस विषयलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको जिकिर गरे ।
उनले लेखेका छन्, “लिपुलेक सीमा विवादमा सरकारले लिएको अडान ठीक छ। भारतले पुरानै कुरा भन्यो र चीनले–यो हाम्रो समस्या होइन भन्ने होला।”
बास्कोटाले कूटनीतिक मामिलामा ‘बोल्यो–बोलेन’ भन्ने खालको बहसलाई खासै अर्थपूर्ण नहुने बताउँदै यस्ता विषयमा परिणाममुखी पहल आवश्यक पर्ने धारणा राखे।
उनका अनुसार कूटनीति केवल अभिव्यक्तिमा सीमित नभई ठोस उपलब्धिमा केन्द्रित हुनुपर्छ।
यसैबीच, बालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई लिएर पनि उनले चासो व्यक्त गरेका छन्। ‘ग्रेटर नेपाल’ का समर्थक ठानिने प्रधानमन्त्री बालेनको भ्रमणका क्रममा नेपालको अडान कति प्रभावकारी रूपमा प्रस्तुत हुन्छ र त्यसको परिणाम के आउँछ भन्ने प्रतीक्षामा आफू रहेको उनले उल्लेख गरे।
उनले भने, “कूटनीतिमा बोल्यो, बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन। बरु प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र त्यसको परिणाम के आउँछ भन्ने कुराको प्रतिक्षामा छु।”