काठमाडौं । राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफन्तलाई नियुक्ति दिलाउनतिरनलाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको स्मरण गराउदै उनले सांसदहरूलाई भने- 'आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू।'
उनले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रुपमा सिंहदरबार भिड गर्न नजान पनि निर्देशन दिए।
सभापति लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता मनिष झाले भने- 'अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालयहरूमा, मन्त्रालयहरूमा अनावश्यक रूपमा कार्यकर्ता, पार्टीका तर्फबाट रहेका केन्द्रीय सदस्य र सांसदको अनावश्यक उपस्थिति, अनावश्यक भिडभाडहरू नगर्नु भन्ने निर्देशन छ।'
यस्तै संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।
रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ। उपसभामुखमा श्रम संस्कृतिकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन्।