बारा । बाराको अमलेखगञ्ज क्षेत्रमा प्रहरीले करिब एक किलो प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्गबहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तान रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले उनीहरूको साथबाट ९४६ ग्राम अफिम बरामद गरेको जनाएको छ।
प्रहरी निरीक्षक दिवाकर गणेश र प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
हेटौंडाबाट पैदल सिमरातर्फ आउँदै गरेका उनीहरूलाई अमलेखगञ्जमा शंका लागेपछि रोकी जाँच गर्दा लुगा र झोलाभित्र लुकाएर राखिएको अवस्थामा अफिम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई हाल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।