काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्संरचनाको माग चुलिँदै जाँदा नेतृत्व र असन्तुष्ट पक्षबीचको मतभेद सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा निर्वाचनपछि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका नेताहरूलाई पार्टीले अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ ।
मंगलबार केन्द्रीय कार्यालयमा आयोजित छलफलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ले पार्टीभित्रका विषयहरू बाहिर नलगी आन्तरिक समीक्षा र संवादबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
उनले वर्तमान अवस्थामा पार्टीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र घरेलु चुनौती सामना गरिरहेको भन्दै विभाजनकारी गतिविधि नगर्न आग्रह गरे।
छलफलमा सहभागी एक नेताका अनुसार, थापाले नेतृत्व पुनर्संरचनाका विषयमा सकारात्मक रहेको संकेत दिँदै अलग्गै हस्ताक्षर अभियानको औचित्यमाथि प्रश्न उठाए।
'नेतृत्व सकारात्मक भएको अवस्थामा छुट्टै हस्ताक्षर संकलन किन आवश्यक ?' उनले बैठकमा भनेका थिए।
यद्यपि, विशेष महाधिवेशनका पक्षधर नेताहरू भने यो निर्देशन पूर्ण रूपमा मान्ने पक्षमा देखिएका छैनन्। उनीहरू पार्टीको संरचनात्मक सुधारका लागि दबाबमूलक अभियान आवश्यक रहेको तर्क गर्दै आएका छन्।