काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सरकारलाई राजनीतिक पूर्वाग्रहको अभ्यासले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि प्रतिशोध साँधेको भन्दै चर्को असन्तुष्टि जनाएकी हुन् ।
उनले भनिन- ‘सरकारले २००७ सालदेखि लिएर जेनजी आन्दोलन सम्मका घटनाक्रमलाई लिएर सबै फाइल खोलोस्। नत्र भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधले आन्तरिक रूपमा भित्र हालेर एउटा तपाईँले अभियान सफल नपारियोस्। भोलि यो सरकारले धेरै ठुलो क्षति बेहोर्नुपर्छ।’
उनले विगतदेखि हालसम्म भएका विभिन्न आन्दोलन र राजनीतिक घटनाक्रमसँग सम्बन्धित सबै विषयमा समान रूपमा छानबिन गर्न सरकारलाई आग्रह गरिन्।
उनका अनुसार यदि छानबिनको दायरा निष्पक्ष रूपमा विस्तार नगरिएर निश्चित व्यक्तिमाथि केन्द्रित गरियो भने त्यसले राजनीतिक प्रणालीमा असन्तुलन सिर्जना गर्न सक्नेछ। उनले यस्ता कदमले भविष्यमा सरकार स्वयंलाई गम्भीर परिणाम भोग्नुपर्ने अवस्था आउने बताइन् ।