पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा भइरहेको ट्रान्सपार्टीमा मध्यरातमा छापा मार्दै ३८ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार स्वदेशी तथा विदेशी युवायुवती सहभागी उक्त पार्टी अवैध रूपमा आयोजना गरिएको थियो । छापा मार्ने क्रममा ठूलो परिमाणमा लागुऔषध समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पोखरा–१८ का कृष्ण पराजुलीको पुरानो घर भाडामा लिएर बमेन्द्र पुनसहितको समूहले ट्रान्सपार्टी आयोजना गरेका थिए ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये ८ जनाको साथबाट लागुऔषध फेला परेको छ, जसमा ६ जना विदेशी र २ जना नेपाली रहेका छन् ।
बरामद लागुऔषधमा एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो पदार्थ, खात, खैरो हेरोइनजस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन समूह), गाँजा, म्याजिक मसरुम र एलएसडी कागज तथा तरल रहेका छन् ।
प्रहरीले घटनास्थलबाट नगद रकम र मोबाइल फोन समेत बरामद गरेको छ । पक्राउ परेकामध्ये १२ जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ भने ४ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाइने भएको छ ।
मुद्दा चलाउने तयारी गरिएका व्यक्तिहरूमा भारतीय नागरिक श्रृष्टी चन्द (३१) र अनुभव शर्मा (३५), ब्राजिलियन नागरिक चार्ल्स गुवाइवा (४८) लगायत पोखरा, काठमाडौं र दाङका विभिन्न युवाहरू रहेका छन् ।
प्रहरीका अनुसार उक्त ट्रान्सपार्टी तीन दिनसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो । पक्राउ परेका मध्ये २६ जनालाई आवश्यक सोधपुछ पश्चताप अभिभावक एवं आफन्तको जिम्मा लगाइएको छ ।