काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै भट्टराईले संवाद र सहकार्यको बाटो रोज्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने,'प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानु पर्दछ।' भट्टराईले कानुनी राज्य र विधिको शासनमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
उनले आफ्नो धारणा स्पष्ट पार्दै भने, 'कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन। घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु, अविलम्ब रिहाइको माग गर्दछु।'
साथै, उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस् भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। भट्टराईले एमाले पार्टी संयम र धैर्यताका साथ एकताबद्ध भएर वर्तमान प्रतिकूल परिस्थितिको सामना गर्ने पनि बताएका छन्।