काठमाडौं । हिजो मात्रै सत्ताको बागडोर सम्हालेका बालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद्को पहिलो बैठकमै भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले बmुभाएको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गर्यो ।
फलस्वरुप आजै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे ।
उनीहरुमाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा हेलचेक्र्याई गरी ज्यान मारेको अभियोग छ । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ । उक्त दफामा ‘हेलचेर्क्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ ।
पूर्वप्रधानमन्त्री ओली यतिबेला पितृ शोकमा छन् । धार्मिक परम्परा अनुसार उनले सेतै पहिरन लगाएका छन् । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते बिहान भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।
यता, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पनि मातृ शोकमा छन् । उनले पनि सेतै लुगा लगाएका छन् । लेखकी आमा सारदादेवी लेखकको ८९ वर्षको उमेरमा असोज ९ गते अपराह्न निधन भएको थियो ।