धनगढी । कैलालीको अत्तरियास्थित बसपार्कमा बसभित्र पसेर चोरी गरिरहेको अवस्थामा दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बिहानको समयमा बसभित्र प्रवेश गरी चोरी गरिरहेको अवस्थामा बझाङ घर बताउने करन धामी र सुवाश बोहरालाई स्थानीयले रंगेहात समातेका हुन्।
त्यसपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका धामी यसअघि पनि पटक–पटक चोरी मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन्। उनी तीन दिनअघि मात्रै कारागारबाट छुटेका थिए।
हाल दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।