काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्या समाधान गर्न विश्व समुदायलाई आह्वान गरेकी छन्।
फागुपूर्णिमा ९होली० का अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सतर्कता अपनाउन अनुरोध गरिन्।
साथै, उनले नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक पहल र तयारी गर्न ध्यानाकर्षण गराएकी छन्।
उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई राष्ट्रको सर्वोपरि हितसँग जोड्दै सम्पूर्ण मतदाताले विवेकपूर्ण निर्णयसहित मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गरिन्। उनका अनुसार राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि आसन्न निर्वाचन महत्वपूर्ण अवसर हो।
पूर्वराष्ट्रपति भण्डारीले रङ्ग, उत्साह र उल्लासले भरिएको होली पर्वले नेपालीहरूबीच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावना सुदृढ बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत पार्ने विश्वास व्यक्त गरिन्।
सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको यस पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिहरूको अन्त्य गर्दै सभ्य, शान्त र सुसंस्कृत समाज निर्माणतर्फ सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत गरिन्।