Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई एमालेको प्रश्न–चुनाव सार्ने हल्लाको भित्री उद्देश्य के हो ?

सरकारलाई एमालेको प्रश्न–चुनाव सार्ने हल्लाको भित्री उद्देश्य के हो ?

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सर्ने हल्ला चलाइएको भन्दै अब निर्वाचन सार्ने कुरामा एमाले सहमत नहुने जनाएको छ । ।

आजको नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले अब निर्वाचन सार्ने कुरामा एमाले सहमत नभएको बताएका हुन् ।

उनले भने–‘अहिले निर्वाचन सर्ने जुन हल्ला चलाइएको छ । त्यसप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । पुनः दोहोर्‍याउन चाहन्छु– निर्वाचन समयमा हुनुपर्छ ।’

एमाले कुनै पनि बहानामा चुनाव सार्ने नभई फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको उनले बताए ।

उनले भने–‘कुन कोणबाट, कुन दृष्टिकोणबाट, कुन राजनीतिक उद्देश्यका साथ चुनाव सार्ने हल्ला फैलाइँदैछ ? यसको भित्री उद्देश्य के हो ? एमालेले यसबारे गम्भीर चासो राखिरहेको छ ।’

एमालेले निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लगाएर सरकारले मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएका हुन् ।

सरकारका यस्ता कामकारबाहीले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाए । शाहीले मधेस–तराइका विभिन्न जिल्लामा लगाइएको कर्फ्यु आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ । 

पत्रकार सम्मेलनमा शाहीले महान्यायाधिवक्ताको कार्यालयले जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानूनी राज्यको बर्खिलाप भएको बताए ।

शाहीले भने–‘महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानूनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको छ। जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखाली गर्ने अर्थात् ‘वासिङ्ग मेसिन’को रूपमा काम गर्नु न्याय मर्नु सरह हो । महान्यायाधिवक्ताको कार्यालयलाई यो कार्य तत्काल रोक्न आग्रह गर्दछौँ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077