चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निर्वाचित प्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसके फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चितवनमा जारी चुनावी अभियानका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले बोलाउने मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
लामिछानेले उम्मेदवार छनोटमा त्रुटि भई निर्वाचित व्यक्तिको काम सन्तोष जनक नभएम सांसद पदमा रहेकै अवस्थामा पनि फिर्ता गर्ने अभ्यास पार्टीले नीति अवलम्बन गर्न लागेको बताए ।
उनले भने- 'राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउने छौँ । हाम्रो त नजिर नै छ ७२ घण्टाभित्र फिर्ता गराएको । त्यसैका लागि हामीलाई धेरै मत चाहिएको हो ।'
विगतमा ७२ घण्टाभित्रै जिम्मेवारीबाट हटाइएको उदाहरण रहेको उल्लेख गर्दै लामिछानेले मतदातासँग बढी समर्थन माग्नुको कारण पनि यही नीतिगत स्पष्टता र जबाफदेहिता कायम गर्ने उद्देश्य भएको बताए।
साथै पार्टीले कुनै व्यापारी वा बिचौलियाको स्वार्थ बोक्न नपर्ने दाबी गर्दै उनले स्वच्छ र उत्तरदायी राजनीतिक अभ्यासप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।