काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिंदै गर्दै पहिलो पार्टी बन्ने लक्ष्य र उद्घोषका साथ अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकपछि अर्को धक्का लागिरहेको छ ।
पश्चिम नवलपरासको सुस्ता गाउँपालिका रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पार्टी परित्याग गरेपछि सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ तथा सिंगो पार्टीलाई नै धक्का लागेको छ ।
उनी रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाई हुन्। रास्वपाको भनाइ र गराइमा एकरुपता नभएकाले पार्टी छाडेर अहिले स्वतन्त्र नागरिकको रुपमा बस्ने उनको भनाई छ ।
नवलपरासी १ मा कांग्रेस छाडेर आएका विक्रम खनालले रास्वपामा उम्मेदार पाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ ।
यसअघि शुक्रबार रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पनि पार्टी परित्याग गरेका थिए । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार थिए ।
चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीले दल परित्याग गर्नुको एउटा कारण उम्मेदवार चयन रहेको बताए ।
उनले भने–‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा पार्टीले विधि विपरीत उम्मेदवार चयन गरेको प्रति असन्तुष्ट हुनुहुन्थ्यो ।’
चौधरीले अघिल्लो प्रतिनिधिसभामा उम्मेदवार बनेका मधेशका २५ उम्मेदवारहरू मध्ये सर्वाधिक मत समेत ल्याएका थिए । चौधरी समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा चौधरीले पार्टी छाड्दा त्यसको प्रभाव उम्मेदवारमा पर्ने रास्वपा बाराका सभापति स्वर्णकारको भनाइ छ ।
त्यसअघि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेको जिल्ला सभापति स्वर्णकारले बताए ।
रास्वपाले बाराका चार मध्य तीन क्षेत्रमा नयाँ व्यक्ति प्रवेश गराएर उम्मेदवार बनाएको छ । जनता समाजवादीबाट आएका चन्दन सिंह बारा–२ मा उम्मेदवार छन् ।
बारा–३ मा कुलमान घिसिङको उज्यालो नेपालका केन्द्रीय सदस्य रहेका अरविन्द सिंह र बारा–४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा १ (१) मा निर्वाचित रहबर अन्सारीलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको छ ।
बारा–१ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार छन् । धिमाल अघिल्लो पटक पनि उम्मेदवार बनेका थिए ।
त्यसैगरी वागमती प्रदेशका उपसभापति रहेका दिनेश हुमागाईं, रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति रहिसकेकी ममता शर्मा तथा प्रणय शमशेर राणाले पनि रास्वपा परित्याग गरिसकेका छन् ।
के भन्छन् रास्वपा छोडेका नेताहरु ?
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपा परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गरेका छन्।
चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई आग्रह गरे। देश हाल गम्भीर अवस्थामा पुगेको भन्दै उनीहरूले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर सोचविचार गर्न अपिल गरे। उनीहरुले अध्ययन–विश्लेषण गरेर मात्र मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन आह्वान गरे।
पत्रकार सम्मेलनमा वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा छाडेका दिनेश हुमागाईंले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मत दिन आग्रह गरे। चुपचाप नभई धेरै अध्ययन गरेर मत हाल्न उनले सुझाव दिए। देशले निकास पाउने र स्थायी सरकार बन्ने गरी मत दिनुपर्नेमा उनले जोड दिए।
हुमागाईंले रास्वपा आफ्नो सिद्धान्तबाट विचलित भएको आरोप लगाए। समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया सही नभएको र नेतृत्वमा जवाफदेहिता अभाव रहेको कारण आफूले पार्टी छाडेको बताए।
नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोलनमाथि नै धोका हुन लागेको आरोप पनि उनले लगाए।
उनले भने–‘फागुन २१ गतेको निर्वाचनमा चटकदारलाई मत हाल्ने होइन, राजनीतिक व्यक्ति, देश बुझेको व्यक्ति र समाज बुझेको व्यक्ति तथा पार्टी छान्नुहोस्। चुपचाप फलानो छाप भन्ने होइन, धेरै अध्ययन गरेर मत हाल्नुस्। दुईचार दिन सोचेर पनि हुन्छ। तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार बन्नुपर्छ।’
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए।
‘थितिको थालनी र वेथितिको अन्त्य’ भन्ने नारासहित स्थापना भएको पार्टी उल्टो बाटोतर्फ गएको दाबी गरे। उम्मेदवारी छनोट प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिए पनि व्यवहारमा लागू नभएको उनको भनाई थियो ।
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति रहिसकेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन्। बाहिर पारदर्शिताको कुरा गरिए पनि व्यवहार उल्टो देखिएको भन्दै दैनिक रूपमा पार्टी छाड्नेको संख्या बढिरहेको उनले दाबी गरिन्। ‘जान्नेलाई छान्ने’ पार्टीको नारा उल्टो भएको भन्दै आफूले पार्टी छाडेको बताइन्।
उनले भनिन्–‘पार्टीले पारदर्शिताको कुरा गर्थ्यो, तर भित्र अपारदर्शिता धेरै देखियो। त्यसैले रास्वपामा लागेका साथीहरू दैनिक रूपमा पार्टी छाड्दै छन्।’
रास्वपा त्यागेका प्रणय र ममता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् भने दिनेश हुमागाईं हालसम्म कुनै दलमा प्रवेश गरेका छैनन्।