काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजसामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा समान तीन चौका र छक्का प्रहार गरे । ७३–६ को कठिन स्थितीबाट दीपेन्द्रले सातौँ विकेटका निम्ति सोमपाल कामीसँग ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरसम्म डोहोर्याएका थिए । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका बलर सोमपाल कामीले २६ रन बनाए ।
आक्रामक ब्याटिङ गर्दै उनले १५ बलमा चार चौका प्रहार गरे । लोकेश बमले १३ रन जोडे । ओपनर आसिफ शेख र गुलसन झाले समान ११ रन जोडे । शीर्ष र मध्यक्रम धरासायी बन्दा नेपालका ओपनर कुशल भुर्तेल एक रनमै पभेलियन फर्किए । कप्तान रोहितले पाँच रन थप्दा आरिफ सेख दुई र करण केसीले एक रन बनाए ।
नेपाललाई सस्तैमा रोक्न वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए । चार ओभर बलिङ गरेका होल्डरले २७ रन खर्चिए । अकिल हुसेन, म्याथयु फोर्डे, शमार जोसेफ र रोस्टन चेजले समान एक विकेट लिए ।
खेलमा वेस्ट इन्डिज लगातार तेस्रो जितको खोजीमा छ भने नेपाल पहिलो जितको खोजीमा छ । नेपालले यसअघि इंग्ल्यान्डसँग चार रन र इटालीसँग १० विकेटको हार बेहोरेको थियो ।
समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सुखद हुन सकेन ।नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार २ खेलमा जीत निकालेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ ।