काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले ‘नागरिक करारपत्र’ सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
रास्वपाले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’ नाम दिँदै आएको छ । पार्टीको वाचापत्र फागुनको पहिलो साता सार्वजनिक हुने तयारी भइरहेका बेला लामिछानेले त्यसअघि नै नागरिक करारपत्र ल्याइने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
लामिछानेले भनेका छन्,'फागुनको पहिलो साता हामीले सार्वजनिक गर्ने वाचापत्रअघि करार–पत्र सार्वजनिक हुन्छ र यससँगै वाचा गरिने बुँदाहरू प्रष्ट रुपमा सार्वजनिक हुँदै जान्छन् ।'
उनका अनुसार करारपत्रमा भाषण र घोषणाभन्दा माथि उठेर नागरिकसँग प्रत्यक्ष सम्झौता गर्ने अवधारणा रहनेछ । साथै वाचा पूरा गर्न नसके सजायको स्पष्ट व्यवस्था समेत समेटिने उनले बताएका छन् ।
'भाषण, घोषणा, वाचाभन्दा माथि उठेर हामी यसपटक नागरिकसँग करार गर्न चाहन्छौँ, जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको प्रष्ट व्यवस्था होस्,' उनले उल्लेख गरेका छन् ।
लामिछानेले करारपत्र ल्याउने निर्णय आरोप–प्रत्यारोप र राजनीतिक विवादभन्दा माथि उठेर नागरिकलाई स्पष्ट रूपमा प्रतिबद्धता जनाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।
उनले भनेका छन्, 'कसले के भन्छ भन्ने चिन्ता, आरोपहरूको खण्डन, तथ्य जाँच र सवाल(जवाफभन्दा माथि उठेर हामी आफ्ना कुरा नागरिकलाई प्रष्ट राख्दै जान्छौँ । नागरिकसँग आफूले भनेका कुरामा करार गर्छौं र फैसला गर्ने जिम्मा तपाईंको हातमा छोड्छौँ ।'
उनले ‘जति सक्छौँ त्यति भन्छौँ, जति भन्छौँ त्यति गर्छौं’ भन्ने प्रतिबद्धता दोहोर्याउँदै समृद्धिका लागि करारपत्र छिट्टै सार्वजनिक हुने बताएका छन् ।
यसैबीच लामिछानेले फागुन २१ मा हुने निर्वाचनलाई सामान्य नभई देशको भविष्य बदल्न सक्ने निर्णायक अवसरका रूपमा चित्रित गरेका छन् ।
'फागुन २१ कुनै सामान्य मिति होइन, मुलुकको भाग्य र भविष्य बदल्न सकिने कोशेढुङ्गो हो,' उनले भने ।