काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी अभियानका क्रममा भएको रौतहट घटनाले गम्भीरताका साथ लिइएको जनाएको छ ।
रास्वपाका तर्फबाट रौतहट क्षेत्र नम्बर–२ मा उमेदवार बनेका सगिर आलमको प्रचारप्रसारमा प्रयोग गरिएको बा१५च ४२४४ नम्बरको गाडीको ठक्करबाट बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४, मठिया टोलकी चार वर्षीया अलसा खातुनको मृत्यु भएको थियो ।
उक्त घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको बताउँदै रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गरेका हुन् ।
'यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधनको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टी पंक्ति, उमेदवार र सवारीचालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौँ,' रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको छानबिनका निम्ति स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको पनि बताइएको छ ।
साथै पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका निम्ति पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको रास्वपाले जनाएको छ।