जनकपुरधाम । नेकपा एमाले सिरहाका १२ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
आज बिहान गोलबजार नगरपालिकामा उनीहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनमा दिनेमा माधवबहादुर बुढाथोकी (पूर्व जिल्ला कमिटी सदस्य), पुष्पलाल पाख्रिन (प्रदेश कमिटी सदस्य), भीमबहादुर थापा (बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य) छन् ।
त्यस्तै जिल्ला कमिटीबाट धनराज यादव (पूर्व जिल्ला कमिटी सदस्य), तुलसीप्रसाद उपाध्याय (जिल्ला कमिटी सदस्य), प्रमोदकुमार लामा (जिल्ला कमिटी सदस्य), तेजकुमार लामा (पूर्व जिल्ला कमिटी सदस्य), राजकरण साह, पूर्व वडा कमिटी अध्यक्ष, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा र नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतो रहेका छन् ।
‘जनताको नाममा राजनीति गर्ने भनिए पनि व्यवहारमा सीमित व्यक्तिको स्वार्थ हाबी भएको अवस्था हामीलाई स्वीकार्य हुन सकेन,’ उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
संगठनभित्रै रहेर सुधारको प्रयास गरे पनि नेतृत्वले गम्भीरतापूर्वक नलिएको उनीहरूको आरोप छ ।
