काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध निर्वाचन आयोगले आवश्यक कानुनी कारबाही अघि बढाउन साइबर ब्युरोलाई पत्र पठाएको छ ।
आइतबार बसेको आयोगको बैठकले प्रसाईँले सार्वजनिक रूपमा फैलाएको भ्रामक र आधारहीन आरोपले निर्वाचन प्रक्रियामाथि शंका उत्पन्न गराएको निष्कर्ष निकाल्दै साइबर ब्युरोलाई अनुसन्धान र कारबाहीका लागि औपचारिक रूपमा पत्राचार गरेको हो ।
प्रसाईँले शनिबार नै भक्तपुरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता लिएको आरोप लगाएका थिए ।
उक्त अभिव्यक्तिलाई आयोगले तथ्यहीन, गैरजिम्मेवार र सार्वजनिक विश्वासमा आँच पुर्याउने खालको भएको जनाएको छ ।