काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको पछिल्लो निर्णयलाई लिएर विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शनिबार बसेको एमाले सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि आइतबार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले यस्तो अपिल गरेका हुन्।
सचिवालय बैठकबाट भट्टराईसहित केही चर्चित नेताहरूले टिकट नपाएपछि पार्टीभित्र चर्चा र बहस सुरु भएको छ। उक्त निर्णयप्रति असहमति जनाउँदै भट्टराईले बैठकमै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।
आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्, 'नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु।'
उनले पार्टीको दीर्घकालीन उद्देश्य र आन्दोलनको इतिहास स्मरण गराउँदै अझ उच्च मनोबल र मजबुत एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
'हाम्रो यात्रा लामो र गौरवपूर्ण छ,' भट्टराईले उल्लेख गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन आ–आफ्नो ठाउँ र हैसियतबाट सक्रिय भूमिका खेल्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।